देक्काइदो ओनसेन : जापानी व्यञ्जन, नेपाली आतिथ्य

काठमाडौं । सुशी, ओकोनोमियाकी, मिसो तह, याकिटोरी, ताकोयाकी । खानाका पारखीहरुलाई थाहा छ, यी जापानी व्यञ्जन हुन् । खानपानको समृद्ध र विशिष्ट स्वाद बोकेर जापानी परिकारले विश्व परिक्रमा गरिसकेका छन् । यही स्वाद नेपाली चुलोमा पनि भित्रिसकेको छ । त्यसैमध्येको एक हो, देक्काइदो ओनसेस ।
शान्त मात्र होइन, आतिथ्यको आनन्दबीच जापानको मौलिक रामेन जस्को नुडल्स र बेन्त्वबक्स देक्काइदोको यहाँ स्वाद लिन पाइन्छ । जापानिज र नेपाली मौलिक खानाको स्वाद यहाँको अर्को आकर्षण भएको देक्काइदो ओनसेनका अध्यक्ष अर्जुन अधिकारी बताउँछन् । उनका अनुसार यो परिकार नेपालका अन्य रेस्टुरेन्टमा पाइँदैन । बेन्त्वबक्स काठमाडौंका डिपार्टमेन्ट स्टोरहरुलाई पनि सप्लाई गर्ने योजना रहेको अधिकारीले सुनाए ।

अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएका अधिकारी किशोर अवस्थामा हुँदा नै सन् १९९५ तिर हस्पिटालिटी क्षेत्रमा सरिक भएका हुन् । पोखरामा बुवा ढुण्डीराज अधिकरी र दाजु अमृत अधिकारीले सुरु गरेको होटल व्यवसायमा अर्जुनले मार्केटिङको जिम्मेवारी लिएर काठमाडौं छिरेका थिए । त्यहीबेला उनले एउटा म्यागेजिनमा संसारको सबैभन्दा उत्तम सेवा र जापानमा पाइने कुरा पढे । त्यसपछि उनी सन् २००१ मा जापान पुगे । पाँच वर्ष हस्पिटालिटी क्षेत्रमा काम गरे । त्यसपछि आफ्नै व्यवसाय थालेका अधिकारीले अहिलेसम्म जापानको हुक्काइदो सहरमा ‘बिस्तारै बिस्तारै’ नामका १० रेस्टुरेन्ट स्थापना गरिसकेका छन् ।

जापानको निकै सुन्दर हुक्काइदो सहरमा जसरी मानिसहरु रिफ्रेसमेन्टका लागि आउने गर्छन् त्यसरी नै काठमाडौंको अस्तव्यस्त ट्राफिक, बिरलै पाइने हरियाली र व्यस्तताबाट एक पल भए पनि उम्किएर समय बिताउने स्थान बनोस् भनेर आफूले देक्काइदो ओनसेन स्थापना गरेको अधिकारी बताउँछन् ।

प्रकृतिको बीचमा बाँस र माटोको प्रयोग गरेर आधुनिक सेवा दिन उनले करिब ८ रोपनी जमिनमा साढे ९ करोड रुपैयाँ लगानी गरे । त्यसमा जापानको ‘समराई’ कल्चरलाई नेपाली ग्रामीण बाँस र माटोको संस्कृतिसँग मिलाएर यहाँको परिवेश निर्माण गरिएको छ । ‘अहिलेसम्म संरचना र रिसोर्ट निर्माणमा मात्रै चार करोड लगानी भएको छ,’ देक्काइदो ओनसेनकी डिपार्टमेन्ट हेड सुनिता अधिकारी भन्छिन्, ‘अहिले यो ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, अझै चार करोड लगानी थपिन्छ होला ।’

परम्परागत र मौलिक शैलीलाई आधुनिक लेपन दिएर रिसोर्ट सजाइएको छ । जहाँ न जापानिज न नेपाली परिकार मात्र पाइन्छ । आगन्तुकको चाहनाअनुसार टिपिकल जापानिज र नेपाली परिकार पस्कनु आफूहरुको उद्देश्य रहेको सुनिताले सुनाइन् ।